नेहा पुनकी आमा भन्छिन्, ‘मेरो छोरीलाई जसरी मार्यो, त्यसरी नै मैले उसलाई मर्न पाऊँ
पोखरा– मगर चलचित्रकी नायिका १९ वर्षीया योरुना पुन ‘नेहा’को गत मंगलबार आफ्नै घर नजिकै हत्या गरी फालिएको अवस्थामा फेला परिन् । पोखरामा उनको हत्यारालाई पक्राउ गरी चाँडै कारबाहीको माग गर्दै विरोध प्रदर्शन भयो । अन्ततः प्रहरीले ‘नेहा’को हत्यामा संलग्नलाई पक्राउ गर्न सफल पनि भएको छ । नाताले उनकै धर्मदाइ पर्ने २१ वर्षीय सतीश भनिने कृतन खड्गीलाई हत्या अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले अभियुक्त सार्वजनिक गरे पनि आफन्तको आँसु ओभाएको छैन । आक्रोश पनि उस्तै छ । आफूले दुःख गरेर जन्माए–हुकाएकी छोरीको हत्या गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्छ भन्ने माग उनीहरूको छ । उनकी आमा आँसु झार्दै भन्छिन्, ‘मेरो छोरीलाई जसरी मार्यो, त्यसरी नै मैले उसलाई मर्न पाऊँ ।’ स्थानीय टेलिभिजनसँग कुराकानी गर्दै उनले छोरीको हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएकोमा अलिकति भए पनि मन शीतल भएको उनले बताइन् । उनले प्रहरीलाई धन्यवाद पनि दिइन् ।
उनले छोरीलाई सम्झँदै भनिन्, ‘नेहा सानैदेखि मिलनसार, कसैलाई दुःख नदिने स्वभावको थिई । नाच्ने गाउनेमा उसको धेरै नै रुची थियो । अफिसमा साहुले बिहानै आउनु भनेपछि ऊ घरबाट बिहानै साढे ७ बजे अफिस गएकी थिई । अनि म आफ्नै काममा व्यसत भएँ दिनभर । होटलमा काम गर्ने भएपछि खाने मान्छेहरु आउँछन् । खाइसकेपछि आ–आफ्नो बाटो लाग्लान् भन्ने सोचेकी हुन्थेँ । कहिले ढिलो हुन्थ्यो । त्यो दिन बेलुका करिब ८ बजेको थियो । बत्ति पनि थिएन । अबेरसम्म पनि ऊ नआएपछि म खाना खाएर सुत्न गएँ । फोन हान्दा स्वीच अफ थियो । सानीमाको घरमा गएकी होला भन्ने सोचेकी पनि थिएँ । त्यस्तो हुन्छ होला भन्ने सोचेकी थिइनँ । भोलि बिहान ८ बजे बत्ति जाने पालो थियो । फोटोकपी गनुपर्ने थियो । मेरो आफ्नै कामले दौडिदैं फोटोकपी गर्न गएँ । मान्छेको भीड देखें । के भएको रहेछ भनेर सोध्दा एकजनाले एउटा आइमाई मरेछ, भनेर भन्नुभो । मैले सोचे कि ओल्लो घर, पल्लो घरको होला भनेर । पछि मारेको हो भनेर सुनें । अरूले नचिनेको रहेछ । म गएर हेर्दा मेरो छोरीले लगाएर गएको त्यो जुत्ता देख्ने बित्तिकै मेरो छोरी रहेछ भन्ने लागिहाल्यो । मैले अनुहार हेरेको पनि होइन । खुट्टा र हात देख्दा नै म त्यहीँ बेहोस भएँ । त्यसपछि के भयो मलाई थाहा नै भएन ।’
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.