किन गर्छन आत्महत्या दक्षिण कोरियामा लाख कमाउनेले ?


कोरियामा नेपाली काम गर्न जान थालेको सात बर्ष भयो। कोरियामा अहिलेसम्म लगभग ३३ हजारको हाराहारीमा नेपाली कामदार छन्। कोरियामा अन्य देशमा जस्तो भेदभाव छैन। 

नेपालमा भाषा पास गरेर कोरिया जाने सपना साकार पार्दा र कोरिया पुगेपछि भने कहानी अलि फरक छ । हुन त कोरियासँग जोडिएपछि कोरिया आउन नपाउनेका पनि दुख त कम छैन। पढ्दा लाग्ने सुल्क, सहरबजारको बसाइँ, ओहोरदोहोर गरिरहनुपर्ने, एकदुई बर्षसम्म कुराइ, रोस्टरबाट नाम हटाउँदा तिनले भोगेको आर्थिक र मानसिक क्षतिको लेखाजोखा नै छैन । यसले नेपालमै पनि तिनीहरुलाई मानसिक तनाब पैदा हुन्छ। कोरिया पुगेर कतिपयले आत्महत्या गरेका छन् । 

नेपालमा रोजगार खोज्ने युवाको लागि आकर्सक मानिने कोरिया पुगी लाख कमाउँदा पनि आत्महत्या गर्नुपर्ने कारण के छ त ? 

कोरियास्थित दूताबास र विभिन्न संघसंस्थाले चासो दिएमा समस्याको पहिचान गरी कम गर्न पनि सकिन्छ। यो समस्यालाई नेपाल सरकारले पनि ध्यान दिन जरुरी छ। यहाँ संघसंगठन पनि च्याउजस्तै छ्यापछ्याप्ती छन्। हरेक जातिका हरेक धर्मका हरेक क्षेत्रका हरेक पार्टीका आआफ्नै संस्था छन्। तिनका कामकारबाही खासै प्रभावकारी छैनन्। महाधिबेसन, सेमिनार गोष्ठी गर्दै समय खर्चन्छन्। 

आफ्नो देशमा स्वतन्त्र भएर बाँचेको मानिस अरुको देशमा कामदारको रूपमा पस्नेबित्तिकै पराधिन र यान्त्रिक हुन्छ। धाराबाट एक गाग्री पानी बोकेर, कहिलेकाहीँ दाउरा चिरेर, साथीभाइसँग घुमेर, कहिले काम कहिले आराम गर्दै बसेको बानी कोरियामा भने एक मिनेट पनि जुध्नुपर्ने हुन्छ। आफ्नो बोलिभाषालाई चटक्कै बिर्सेर केही समय सिकेको भरमा त्यसलाई प्रयोगमा ल्याउन पनि निक्कै गाह्रो हुन्छ। भाषा नबुझी हुने कठिनाइ र खानुपर्ने खप्की पनि उत्तिकै पीडादायी छ। हनुमानले लक्ष्मणको उपचारका लागि चाहिने बुटी नचिनेर पर्बत नै बोकेर लगे झैँ हामीले पनि कसैले एउटा सामान ल्याऊ भन्दा नजिकका सबै सामान उसको मुखमा लगेर राख्नुपर्दा हनुमान नै हौँ किजस्तो लाग्छ। 

घरदेश छोडेर आउनुको पीडासँगै रातदिन मेसिनजस्तै चिसो गर्मी केही नभनी खट्नु पर्दा घरपरिवारको माया, साथीभाइका सम्झना र लेकबेसी गरेका उकालीओराली सम्झँदा भने यसरी दुःख गरी कमाउनुको महत्व क्षीण हुन्छ। तर आफ्नै देशमा सुखदुखमा रमाइरहेका साथी भने सधैँ बिदेशमा डलर फलेको देख्छन्। यता ती डलर टिप्दा नौनारी गलेको भने सोच्दैनन्। भौतिक शरीरले यता काम गर्दापनि मन भने गाउँघर, पाखापखेरातिर डुल्छ। जसले गर्दा दुर्घटनामा पर्ने सम्भावना पनि उत्तिकै हुन्छ। 

सधैँका लागि उठ्ने समय, खाने समय, हातमुख धुने, आराम गर्ने समय तोकिएको हुन्छ। त्यो रुटिन आफूमाथि खनिँदा झनै तनाव हुन्छ। देशको भूगोल, परिवेश, मौसम समय परिवर्तनले धेरैलाई निन्द्रा नै पर्दैन। यो समस्या पनि धेरैमा देखिन्छ। दिनभर मेसिनमा खटिनु, साँझ कोठामा पुगी आराम गर्नुपर्ने बेलामा जति बल गरेपनि निन्द्रा नै नपर्नु फेरि भोलि बिहान ठिक समयमा उठेर कामको लागि उपस्थित भइहाल्नुपर्ने नियति कहिलेसम्म भोग्नु। समयमा घरपरिवार, आफन्तजनसँग भलाकुसारी गर्न पाइँदैन। समय नै मिल्दैन। कहिलेकाहीँ महिनामा आक्कलझुक्कल कुरा हुँदा पनि तलब र कामको मात्र सोधिखोजी हुँदा सन्चोबिसन्चो परिवारजनको प्राथमिकता पर्दैन। त्यसबेला पनि मन खिन्न हुन्छ। हिजो छ हजारले चलिरहेको परिवारलाई छोरा बिदेश जानेबित्तिकै एक लाखको दरकार कसरी पर्छ? बुझ्नै सकिँदैन। त्यसका लागि गर्नुपर्ने दुख के कति हुन्छ? त्यो कुरा उनीहरुलाई वास्ता नै हुँदैन। 

यहाँ यस्तो दुःख गर्नुभन्दा नेपालमा गरे त नेपालमा सुन नै फल्थ्यो भन्ने कुराले पनि मनमा डेरा जमाउन थाल्छ। यसरी रगत पसिना बगाउनुको पनि अर्थ नै लाग्दैन। यस्तो दुःख गर्नुभन्दा बरु नेपालमै आरामसँग सिस्नु र खोले खाएर सुखसँग बस्नपाए बरु नेपालमै फर्किन्थे भन्ने कुरा सोचाइमा आउँछ। तर परिस्थिति त्यस्तो हुँदैन। बाहिर सुन्नेलाई आकर्षक लाग्ने एक लाख जब यहाँ यथार्थमा कमाउँदा लाग्छ, यो केही होइन। यस्तो दुःख गरे त नेपालमै पनि लाख कमाउन सकिन्छ। तर हामीले किन नेपालमा हुँदा गरेनौँ त? दःुख भन्ने चिज हामी नेपालीले नेपालमा गर्न जानेकै छैनौँ। जब बिदेशिन्छौँ तब देख्छौँ। भोग्छौँ। र, गर्छौं दुख। 

नेपाल फर्केर गर्न चाहन्छौँ त्यस्तो वातावरण नै बन्दैन। त्यसैले आफ्नो देशमै दुख गर्न सिकौँ र गरौँ जहाँ गए पनि दुःख गरेर मात्र पैसा पाइन्छ। जब राति अबेरसम्म निद्रा नै पर्दैन, जब बिहान सबेरै अलार्मको कर्कस ध्वनिले निद्रा भङ्ग गर्छ तब बिहानदेखि भोकभोकै पकाउने जाँगर पनि नलागेर काममा गएर दिउँसो खाना खाएर चुठेको हात सुक्न नपाउँदै फेरि दौडिनु पर्छ। बीचमा एक मिनेटमा एक सेकेन्ड पनि नाघ्न नदिने रेस्ट टाइमको घण्टीको कर्कस टिरिङ टिरिङले पनि शरीरमै हिर्काउँछ। यस्तोमा सबै छोडी आफ्नै देश फर्कने मन सबैको हुन्छ। तर, घरबाट जबाफ आउँछः बाबू, दुःखसुख गरेर गर। फेरि यस्तो मौका फेरि आउँदैन। 

कुनै दिन आफैँले पनि स्वर्णिम मौका सोचिरहेको तनमनमा कोरिया कोरिया भन्दै बसेको अवस्था भने यहाँ पुगेपछि बदलिन्छ। लाग्छ, यो सुनौलो मौका नभएर स्वदेशमै पाइने सम्पूर्ण मौकाका अवसान हो। स्वदेशमै भएका मौकाको उपयोग गर्न परिवारले त अनुमति दिँदैनन्। समाजको पनि डर लागेकाले छिटै निर्णयमा पुग्न सकिँदैन। 

समाजमा पनि फलानोको छोरो त काम नै नलाग्ने भयो। ठाउँमा पुगेर पनि फक्र्यो भन्छन्। तर दुर्घटनामा अंगभंग भएर फर्केमा भने विचरा भन्दै सहानुभूति पनि दर्साउँछन्। त्यसबेलासम्म जीवन बर्बाद भइसकेको हुन्छ। समाजमा पनि मानिस बिदेश गएर देशमै केही गरेर ठूलो हुन्छ भन्ने चेतनाको बिकास हुन जरुरी छ र देशमा जुनसुकै काम गरिरहेका सम्मान गर्न पनि सक्नु पर्छ। गाउँघरमै सानोतिनो काम गरी जीवनयापन हुन्छ भने बिदेशको सपना देख्नु प्राणघातक हुन्छ। यस्तो अवस्थामा साथीहरू सही समयमा सही निर्णय लिन असफल हुन्छन्। यस्तो समस्या सबैलाई भन्दापनि जो यी समस्या व्यवस्थापन गर्न नसकेर आत्महत्याको बाटो रोज्छन्। परिवार, समाज, सरकारले बिदेशिएका युवालाई देश फर्कने वातावरण बनाउन ढिला गर्नु हुँदैन। 

हामीले पनि डलर, युरोभन्दा आफ्नै रुपैयाँ ठुलो सम्झने बानी बसालौँ। धेरै कमाएर घरजग्गा किन्ने, गाडीमोटर किन्ने, सुखसयलमा बस्ने उद्देश्यले बिदेश नआऔं। त्यसका लागि पसिना देशमै बगाआँं। आइसकेकाले दुःखसुख गर्नु नै छ। तर अब आउनेलाई देशमै रोक्ने वातावरण सिर्जना गरौँ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook