प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै लाल बाबु पण्डितले भने ‘उखान टुक्काले देश चल्दैन’
काठमाडौँः चर्चित पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उखान टुक्काले देश नचल्ने बताएका छन् ।
मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा बोल्दै पण्डितले भने, ‘एमालेको नेतृत्व पक्तिले आफ्नो जिम्मेवारी बुझ्न सक्नुपर्छ । उखान टुक्काले देश चल्दैन ।’
एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहितका एमाले शीर्ष नेता उपस्थित कार्यक्रममा आक्रोशित रुपमा प्रस्तुत भएका पण्डितले एमाले नेतृत्वले देशमा आइपरेको संकटबाट देशलाई निकास दिनुपर्ने बताए ।
उनले एमाले भएकोमा आफूलाई गर्व लाग्ने गरेको बताउदै अब एमालेले हिमाल, पहाड र तराईलाई मिलाएर देशको नेतृत्व गर्न सक्नु पर्ने पर्ने अडान अघि सारे ।
पण्डितले नेपाली युवामा आत्माविश्वास पैदा गरेर युवालाई नेपाल केन्द्रित गर्नुपर्ने बताए । ‘युवालाई आत्मविश्वास पैदा गर्नुपर्छ । युवालाई नेपाल केन्द्रित गर्नुपर्छ ।’
पण्डितले युवा विदेशीने क्रमलाई रोक्नुपर्ने र त्यो रोक्न एमाले नेतृत्व पंक्ति सफल नभए एमाले अस्थिपञ्चर मात्र रहने दाबी गरे ।
‘ब्रेनडेन रोक्नुपर्छ । यो रोक्ने तर्फ एमाले र एमालेको नेतृत्व पंक्तिले आफ्नो जिम्मेवारी बिर्सियो भने नेकपा एमाले पनि कमजोर अस्थिपञ्चरका रुपमा मात्र रहन सक्छ,’ पण्डितले भने, ‘मैले आत्मविश्वास गुमाएको छैन । म राष्ट्रियताप्रति कुनै गद्दारी गर्दिन र एमालेलाई समृद्ध बनाउनका निम्ति लागि रहने छु । आफ्नो पहिचान नेपाली भएर दिनेछु ।’
मधेसी मुलका नेताले आफ्नो पहिचान बेचेको तर्फ लक्षित गर्दै मधेसी मुलकै नेता पण्डितले भने, ‘मैले पहिचान खोज्न कुनै देशको शरण लिने छैन, कसैको आर्शीवाद लिने छैन । नेपाली जनताको आर्शीवाद भए म नेपाली भएकोमा गौरवान्वित छु ।’
पण्डितले उच्च मनोवलका साथ अघि बढे विजय सम्भव भएको बताउदै नेपाल समृद्ध बनाउन कमजोरी आफूभित्र खोजेर नेतृत्वले काम गर्नुपर्ने बताए ।
पण्डितले भने, ‘उच्च मनोवलका साथ हामी अघि बढौँ । विजय सम्भव छ । नेपाल सुदृढ हुन्छ । नेपाल समृद्ध हुन्छ । प्रकृतिले धेरै कुरा दिएको छ, गर्न धेरै बाँकी छ ।’
हेर्नुहोस पुरा भिडियो
मदन भण्डारी अध्ययन केन्द्रको कार्यक्रममा पण्डितले गरेको भाषणको सम्पादित अंशः
मदन भण्डारी अध्ययन केन्द्रले राष्ट्रिय बहस सुरु गरेकोमा गौरवान्वित र खुसी छु । माघ १९ बाट यो यो अभियान सुरु गरिएको सन्दर्भमा माघ १९ हामी सबैले सम्झेका छौँ । माघ १९ ले फेरि पनि हामीलाई सताउने हो कि भन्ने चिन्ता पनि व्यक्त भइरहेका छन् । माघ १९ राजतन्त्रको लाश पनि डढाएर अस्तुको रुपमा मात्र रहेका कारणले त्यो अस्तु व्युँझिएर आउँदैन, डराउनु पर्दैन भन्ने मेरो विश्वास छ ।
हामी गणतन्त्रमा आएका छौँ । भर्खरै हामीले संविधान सभाबाट संविधान पायौँ । संविधान पाउदा धेरै खुसी हुने मध्येको म पनि एक हुँ । संविधान जारी हुनुभन्दा झण्डै पाँच दिन अगाडि मैले भनेको थिएँ, ‘यो मितिमा पनि संविधान घोषणा भएन भने मुलुक झन सङ्कटपूर्ण अवस्थामा जान्छ । राष्ट्रियता सङ्कटमा पर्न सक्छ ।’
म अहिले पनि गौरवान्वित छु कि नेपालका मुख्य पार्टी, संविधान सभाका सदस्यले हिम्मतका साथ संविधान घोषणा गरेर अघि बढ्यौँ । केही छिमेकी र मित्र राष्ट्रले नेपालको संविधान सभाले संविधान जारी नगरोस् भन्ने चाहेका थिए । तर, हामीले जनताको संविधान जारी गरेरै अघि बढ्यौँ ।
विदेशीसँग नडराई राष्ट्रियताको कुरा गर्नुहोस्
संविधान जुन हिम्मत र विश्वासका साथ जारी भयो संविधान जारी गर्ने शक्ति एक जुट भएर कार्यान्वयनको दिशामा अघि बढ्नुपर्छ । संविधान जारी गर्दा एक भएका राजनीतिक शक्ति फरकफरक कुरा गरेर अगाडि बढ्न खोज्दा देशमा संकट आइपरेको छ । देश भित्रकै केही दुई चरित्रको काम र कुरा गर्नेले यो संविधानले नेपाली जनताको भविष्य कोर्न सक्तैन भनेर भनिराखेका छन् । यो प्रक्रिया गलत छ ।
उनीहरु भन्दै छन्, नेपालका केही राजनीतिक पार्टी च्याखे थाप्नका लागि मात्र हुन् । उनीहरुले नेपाल र नेपालीको भविष्य सुन्दर बनाउनका निम्ति काम गर्दैनन् । तर यसो भन्नेलाई हामीले जवाफ दिनसक्नु पर्छ । विदेशीले जन्माइदिएको पार्टीको भरमा देश चल्दैन भन्ने जवाफ दिनुपर्छ । विदेशीको भरमा चलेका पार्टीले मालिकको निर्देशन पालना गर्नु बाहेक अरु जानेकै छैनन् ।
जुन पार्टीको नेतामा म नेपाल बनाउँछु भन्ने आत्मविश्वास छ उसले मात्र देशको शिर उचो राख्न सक्छ । उसले शिर निहुराएर कायरपूर्ण कुरा गर्दैन । कायरपूर्ण कुराले परिवर्तन सम्भव छैन । अहिले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउनका निम्ति नेपालका मूल राजनीतिक पार्टीहरु आत्मविश्वासका साथ संविधान बोकेर जनतामाझ हिँड्नुको विकल्प छैन । विदेशीले जन्माएका पार्टीका कुरा सुन्नु भन्दा देश विकासमा लाग्नुपर्छ ।
नेपाललाई माया नगर्ने, नेपालीलाई विश्वास नगर्ने राजनीतिक पार्टी चाहे एउटा हुन्, चाहे अनेक हुन् तिनलाई विश्वास गर्नु हुँदैन । विभिन्न दूतावासमा धाउने, विदेशीसँग लम्पसार पर्ने, छिमेकी देशका राजधानी धाउने, नेपालको राष्ट्रियता र विकास नचाहनेलाई नेपाली जनताले नेता मान्न सक्दैनन् । जसले देशको विकास चाहन्छ ऊ नेता हुन्छ । जो राष्ट्रियताको कुरा गर्छ उ मात्र नेता हुन्छ । राष्ट्रियता भन्दा ठूलो कुरा केही छैन । पार्टीका शीर्ष नेता दिल्लीसँग नडराउनुहोस्, पटनासँग पनि नडराउनुहोस्, लैनचौरसँग त डराउँदै नडराउनुहोस् ।
मलाई कहिल्यै विदेशीसँग डर लाग्दैन । मलाई डर त्योदेखि लाग्छ, जो विदेशमा गएर राष्ट्रको भन्दा बढी आफ्नो निजी कुरा गर्छ । मलाई त्यो नेतादेखि डर लाग्छ, जो नेता जनताको छोराछोरीका लागि सोच्ने भन्दा पनि आफ्नो बारेमात्र सोच्छ । निरन्तर शक्ति केन्द्रमा धाउदै भन्ने गर्छ, म राजनीति कमजोर भएँ, मेरा छोराछोरी पनि तिम्रै जिम्मा, तिमी नै पढाइदेऊ, म विरामी भएँ उपचार पनि तिमी नै गरिदेऊ, हुँदाहुँदा पार्टीको अधिवेशन आयो, मलाई पार्टीको नेता बन्नु छ, मलाई कुनै पार्टीको अध्यक्ष, सभापति बन्न पनि मद्दत गरिदेऊ । यस्ता नेताले राष्ट्रियता कमजोर बनाउछन् ।
‘त्वम् शरणमः’ भइसके पछि हामीलाई जसरी नचाउँछ त्यसरी नै नाच्छौँ । जनताले जसरी जनविश्वास दिएको छ, त्यसरी जनविश्वासलाई लिएर अगाडि बढौँ त कसले हामीलाई नचाउँछ ? कसको शरणमा जानुपर्छ ? कसले संविधान कार्यान्वयन गर्नका निम्ति रोक्छ ?
राजनीतिक पार्टीहरु, नेतृत्वको भूमिका कमजोर भयो भने, राजनीतिक दल र व्यक्तित्वमा प्रश्न उठ्छ । त्यसैकारणले आत्मविश्वासका साथ अगाडि बढौँ । यो संविधानलाई कार्यान्वयन गर्न कसैले रोक्न सक्तैन । संविधान परिवर्तनशील दस्तावेज हो । आवश्यक्ता अनुसार परिवर्तन गर्दै जानुपर्छ । त्यसमा कुनै दुई मत छैन ।
विदेशी त मसँग डराउँछन्
हिजो मलाई एउटा अनलाइनले अन्तर्वाता लिनेक्रममा एउटा प्रश्न सोध्यो, तपाईँलाई विदेशीहरुले कत्तिको सम्पर्क गर्छन् ? मैले भनेँ, स्वदेशीले मलाई सम्पर्क गर्छन्, विदेशी त मसँग डराउँछन् । किनभने उनीहरुको स्वार्थका निम्ति म केही पनि गर्न तयार छैन । मैले हिजै मात्र मदनकृष्ण र हरिवंश ज्यूको एउटा गीत हेरेँ । त्यसमा हामी राजनीतिक दल र नेता कति कमजोर रहेछौँ भन्ने कुरा देखाइएको छ ।
नेकपा एमालेलाई दह्रो बनाउने हो कि होइन, नेतृत्व दह्रो हुने हो कि होइन ? हामीले कसैको मुख ताक्नु पर्छ कि पर्दैन ? मलाई कसैको मुख ताक्नुपर्छ भन्ने लाग्दैन । पार्टी निर्माणको सन्दर्भमा मलाई पनि केही गुनासो छ । झण्डै तीन महिना भयो मन्त्रीबाट फर्केको, मैले पार्टीका नेतालाई सोधेँ, मैले के काम गरौँ भन्दा, ‘मन्त्री हुँदा पढ्न पाउनु भाथेन होला, दस्तावेज पढ्दै गर्नुस’ भने । अब यो काम गर्नुस् भनेर अहिलेसम्म भन्नु भा छैन । पार्टी निर्माण कसरी गर्नु ? पार्टीमा कसैलाई पनि जिम्मेवारीबाट बाहिर राख्नु हुँदैन र जिम्मेवारी लिएकाले कसरी निर्वाह गर्दै छ भनेर खोजीनीति पनि गर्नुपर्छ ।
हाम्रा वरिष्ठ नेता कमरेडहरु पनि यहाँ हुनुहुन्छ । मलाई एउटा कुरामा कहिलेकाहिँ डरलाग्छ, इतिहासमा गल्ती भएको छ । फेरि गल्ती नहोस् । राजनीतिक पद गैरराजनीतिक व्यक्तिको हातमा विक्री कहिल्यै नहोस् । त्यस्तो भयो भने, राजनीति कमजोर हुँदैछ र पार्टी कमजोर भयो भनेर मैले बुझ्नु पर्छ ।
जनसंगठनको केन्द्रीय सदस्यको मूल्य पाँच लाख
केही जनसङ्गठनका कमरेडले मेरो निवासमै आएर भन्नु भयो, कमरेड जनसङ्गठनको केन्द्रीय सदस्यमा आउनका निम्ति पाँच लाख तोकिएछ, मनोनित गर्नलाई । मैले सोधेँ, किन तोकियो ? माग्नेले मागे । दिनेले पाँच लाख दिए । साँच्चै यो तरिकाले जनसङ्गठन, पेशागत सङ्गठन, राजनीतिक पदहरु जाने हो भने पार्टी कमिटि कसरी परिचालन हुन्छन् ? पार्टी प्रक्रियामा नचल्ने हो भने मैले बुझ्नु पर्छ पार्टी उल्टो दिशा छ ।
यो प्रक्रियाले राष्ट्रलाई समृद्ध बनाउने अभियान पनि उल्टो दिशामा जान्छ र पार्टी पनि कमजोर बन्छ । पार्टीको सम्पूर्ण नेतृत्व पङ्क्ति सजग हुनुपर्छ । अलिपछि पैसा हुनेले पद प्राप्त गर्नेछन्, अलिपछि नातेदारले पद प्राप्त गर्नेछन् भन्ने मानसिकताको अन्त्य हुनुपर्छ । यो तरिकाले पार्टीमा खिया लाग्छ । म नेकपा एमालेको समाप्तिको बाटो रोज्न सक्तिनँ । मैले नेपालको समृद्धिको बाटोलाई रोक्नु हुँदैन भन्ने आत्मविश्वसाका साथ राजनीति गारौँ । हामी अडिग भएर राजनीतिमा लागेमा नेपाललाई कसले होच्याउँछ ? कसले नेकपा एमालेलाई होच्याउँछ ? तर हाम्रो बोली र व्यवहार सही ठाउँमा हुनुपर्छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.