शुभ समाचार : आफ्नो छोराको मृत्यु पछि 'बिधुवा' बुहारीलाई कन्यादान दिने असल सासु ससुरालाई भब्य अभिनन्दन
अनिल खत्री
२८ फागुन, तम्घास । ‘बिधवा’ बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ विवाह गराइदिएका गुल्मीको एक दम्पत्तीलाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउद्देश्य सहकारी संस्थाको संयोजनमा जिल्लाका सात वटा संस्थाले सदरमुकाम तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन् ।
छोराको निधनपछि बुहारीको उज्ज्वल भविष्यको कामना गर्दै कन्यादान गरिदिएका तम्घास बाघमारेका लक्ष्मी नेपाली र उनका श्रीमान इशवरी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो ।
सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे । सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताइन् ।
बिवाह गरेको छोटो समयमै बिधवा बनेका बुहारीहरुलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने उनले बताइन् ।
बिबाह गरेको एक बर्षमै छोराको निधन भएपछि उनले बुहारी उषाको कन्यादान गरेकी हुन् । धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दाम्पत्य जीवन अहिले निकै सुमधुर छ ।
छोरोको मृत्यु पछि कलिलै उमेरकी बुहारीको भविष्यप्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएको सासु लक्ष्मी नेपालीले बताइन् ।
सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दाम्पत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन् । उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु, ससुरा र घरपरिवारलाई धन्यवाद समेत दिइन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.