नेपालमा अहिलेसम्मकै ठूलो फलाम खानी भेटियो, उत्खननका लागि जिओलोजिस्ट अध्ययनमा खटिए
कावासोती, ३ चैत - नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भएको पत्तालागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्(जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन्।
६ वर्षअघि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए। कोइलालगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना रहेको पत्ता लगाएका थिए।
कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा यो रु २३ खर्बभन्दा बढीको भण्डार हो। विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो। धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूरा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ।
एक सय हेक्टर क्षेत्रफलभित्र चालू वर्षको अन्तिमसम्ममा विस्तृत सर्भेसक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताए। धौवादी र धौवादीकै पोखरीमासमेत उत्खननका बारेमा अध्ययन भइरहेको छ। यसका लागि एकहप्ता अगाडिदेखि जियोलोजिस्टद्वय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन्।
उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन्। धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। विस्तृत अध्ययनबाट उत्खनन् सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महतोले बताए। सम्भावना देखिएका ठाउँमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुनसकेको छैन।
कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टिल, छड इत्यादि बन्छ। सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ। धौवादीमा विभागले उत्खनन्का बारेमा विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दा हौसिएका छन्।
कालो पत्थरको यो पहाडमा चुम्बक सजिलै समात्ने ढुङ्गा भेटिने भएका कारण साना–साना बाललिका समेत चुम्बक लिएर ढङ्गासँग खेल्ने गरेका थिए। बोझा पोखरीका कुलबहादुर ठाडाले भने, ’यहाँ फलाम खानीको रुपमा काम भए हाम्रो जीवननै फेरिने थियो।’रासस

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.