पूर्वराजा ज्ञानेन्द्रले वारपारको लडाईं सुरु गर्न सक्ने सम्भावना हेर्नुहोस एक सनसनीपूर्ण अन्तरबार्ता
२५० वर्षभन्दा लामो इतिहास बोकेको राजसंस्था नेपालबाट हटिसकेको छ । जननिर्वाचित प्रतिनिधिहरुले राजसंस्था हटाउने गरेको निर्णयका बाबजुद अहिले पनि कतिपय मानिसहरु नेपालमा राजसंस्था चाहिन्छ र पुनस्र्थापना गर्नुपर्छ भन्ने ठान्छन् । केही राजनीतिक दलहरुले पनि नेपालमा राजसंस्था अपरिहार्य रहेको बताउँने गर्छन् । खारेज नै भएको भए पनि राजसंस्था र पूर्वराजपरिवारका विषयमा गहिरो चासो राख्ने धेरै व्यक्तिहरु छन् । जो नेपालमा राजसंस्था पुनस्र्थापना हुन सक्छ भन्ने धारणा राख्छन् । पूर्वराजपरिवार र राजसंस्थामा गहिरो चासो राख्ने मध्येका एक हुनुहुन्छ वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी । ४६ औं प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी विज्ञप्तिको आशय ‘राजसंस्था फर्काउँने उद्घोष हो’ भन्ने विश्लेषण पनि भइरहेको छ । यसैको सेरोफेरोमा त्रिपाठीसँग काठमाण्डु टुडेले गरेको कुराकानीको सम्पादीत अंशः
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गर्नुभएको विज्ञप्तिलाई कसरी लिनुहुन्छ ?
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो विज्ञप्ति सोझो र सिधा अर्थ दिने छ । पूर्वराजाले आफुभित्र गुम्साएर राखेको भावनाहरु स्पष्ट राख्नु भएको छ । मलाई लाग्छ आफ्नो असहमति जाहेर गर्ने समय आएको उहाँले ठानेर नै यस्तो विज्ञप्ति जारी गर्नुभएको हो ।
‘मुलुकको हितका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरेको र राष्ट्रको समुन्नत हितबाट पृथक छैन’ भन्ने वाक्यांशलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालमा भएका राजनीतिक परिवर्तनहरु स्वदेशीको इच्छामात्रैबाट भएका छैनन् । यो सत्य हो । मैले कुनै समय उहाँलाई भेट्दा उहाँबाट अभिव्यक्त भएको विचारको आशय के थियो भने, ‘नेपाली जनताले राजा नरहुन भन्ने ठानेका छैनन् । बाहिरी शक्तिको कारणले गद्दी छाड्नु पर्यो ।’ उहाँको यस्तो आशय रहनु र अहिले यसखाले विज्ञप्ति सार्वजनिक हुनुले पूर्वराजासँग बाहिरी शक्तिसँग सम्पर्क र सम्बन्ध स्थापित भइसकेको बुझ्न सकिन्छ । दोस्रो कुरा उहाँसँग अहिले दुई विकल्प छन् । पहिलो हो यहि व्यवस्थालाई स्वीकार गरेर चुपचाप बस्ने । दोस्रो हो यहि व्यवस्थामा राजसंस्थाको स्पेस खोज्ने । स्पेसकै लागि उहाँ सम्भवतः अन्तिम प्रयास गर्ने योजनामा हुनुहुन्छ । राजसंस्था चाहने जनतालाई उहाँले आश्वासन दिन चाहेको हुनुपर्छ । म सकिएको छैन, देश र जनताको लागि केही गर्ने इच्छा छ भन्ने उहाँको भावना हो । उहाँले राजगद्दी छाड्ने बेला पनि उहाँले राजगद्दीलाई ‘जनताको नासो’ भन्नु भएको थियो । नासोको अर्थ राख्न दिएको भन्ने हो । अनुकुल समयमा लिन आउँछु त त्यतिबेलै भन्नु भएको थियो । उहाँले गणतन्त्र स्वीकार अहिलेसम्म गर्नुभएको छैन । राजाहरु जति देश र जनताप्रति ध्यान राख्थे अहिलेको राजनीतिक नेतृत्वले राख्न सकेको छैन । यसकारण पनि उहाँले ‘मुभ’ गर्न खोजेको हुन सक्छ ।
पूर्वराजाको बाहिरी शक्तिहरुसँग सम्पर्क र सम्बन्ध विस्तार भएको बताउनु भयो, यसको आधार के ?
नेपालको राजनीतिक परिवर्तनमा जहिले पनि भारत जोडिने गरेको छ । ०७ सालदेखि ६२\६३ सालसम्मको परिवर्तन हेर्दा थाहा हुन्छ भारत जोडिएको छ । ६२\६३ को जनआन्दोलनको आधार १२ बुँदे समझदारी थियो । त्यो भारतमै भएको थियो । नेपालको राजनीतिक परिवर्तनमा सहयोग पुर्याउँने भारतका हिजोको सत्ता अहिले फेरिएको छ । भारतमा ६५ वर्षपछि राष्ट्रवादी चरित्रको सत्ता आएको छ । यो सत्ताले नेपालको राजनीतिलाई फरक दृष्टिकोणबाट हेर्ने गर्छ । संविधान जारी गर्ने बेला नेपाल – भारत सम्बन्धमा आएको चिसोपना, भारतको असन्तुष्टि आदिका कारण पूर्वराजामा आत्मविश्वास बढेको बुझ्न सकिन्छ ।
सुन्दर सपना पालेका नेपाली जनता निराश भएको पूर्वराजाले बताउनुभएको छ । यो निराशा त राजसंस्था हुँदा पनि थियो, अहिले पनि छ, यो कुनै नौलो कुरा हो र ?
त्यसो त राणाहरुको शासनकालमा पनि निराशा थियो । आशा देखाएरै प्रजातन्त्र अपदस्थ गरी पञ्चायती व्यवस्था सुरु गरियो । ४६ सालपछि केही आशा नदेखिएको पनि होइन । आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशतसम्म पुगेको पनि थियो । तर पछिल्लो समय शान्ति, सुरक्षा, सार्वभौमिकता, राष्ट्रियता, रोजगारीको विषय पहिलेको भन्दा पनि खराब छ । राजनीतिक उन्नत हुँदै जाने तर मुलुकको परिस्थिति सबैभन्दा खराब बिन्दुमा पुग्दा पूर्वराजा एक्लै कसरी उत्साहि हुन सक्छन् ? निराशा र आशा भन्ने सापेक्षित हुन्छन् ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.