७० हजार तिरेर कतार पुगेका एक युवाले ५ महिनामै फर्किदा पाए ४० हजार क्षतिपूर्ति


उजिर कार्की/उज्यालो । काठमाडौं, फागुन ८– बाँकेको कम्डी ९ दलैपुरका विनय पुन मगर झण्डै पाँच महिनापछि कतारबाट घर फर्किनु भएको छ । रोजगारीका लागि असोज ४ गते कतार पुगेका विनयले मेडिकल फेल भएपछि रोजगारी गर्न पाउनु भएन । म्यानपावरमा ७० हजार रुपैयाँ तिरेर कतार पुगेका विनय ५ महिनापछि ४० हजार रुपैयाँ लिएर घर फर्किनु भयो । 

कतारको एक कम्पनीमा काम थालेको तीन महिना पुगेको थियो । त्यसपछि मात्रै उहाँको विदेशमा गर्ने मेडिकल सुरु भयो । मेडिकल गरेको १० दिनपछि मेडिकल कम्पनीले रिपोर्ट लिन बोलायो र उहाँलाई सुरुमै मास्क लगाउन भन्यो । विनय आफूलाई कुनै रोग लागेछ भनेर डराउनुभयो । मेडिकल कम्पनीले भनेपछि विनयले कम्पनीको मान्छे झिकाउनुभयो । मेडिकल रिपोर्ट कम्पनीको मान्छेलाई थमाएर विनयलाई सिधै रमाइला अस्पताल पठाइयो । अस्पतालमा खकार जाँच गर्न दिएर विनय क्याममा फर्किनुभयो । त्यसको केहि दिनपछि रमाइला अस्पतालबाट फोन आयो । विनय कार्यस्थलमै हुनुहुन्थ्यो । अस्पतालले तत्काल आउनु भनेपछि साथीहरुलाई आफ्ना सामान पठाएर काम गर्ने पोशाक नै नफेरि उहाँ सिधै अस्पताल जानुभयो । अस्पतालले भर्ना ग¥यो र तत्काल क्षयरोगको औषधी चलायो । 

उहाँमा क्षयरोग लागेको पुष्टि भएपछि उहाँलाई नेपाल फर्काउने प्रक्रिया सुरु भैसकेको थियो । तर विनयले अहिले फर्किँदा समस्या हुन्छ, दवाई खाँदै काम गर्छु भनेर अनुरोध गर्नुभयो । कम्पनीले मान्ने कुरै भएन । त्यसको १८ दिनपछि कम्पनीले नेपाल फर्किने टिकट उहाँको हातमा थमायो । कम्पनीले विनयलाई उहाँले काम गरेको अवधिको तलब नदिई टिकट काटिदिएको थियो । त्यसैले असोज ४ गते कतार पुगेका विनय अघिल्लो साता खाली हात नेपाल फर्किनुभयो । 

साहुसँग ऋण गरेर कतार पुगेपछि विनयलाई अव दिन फिर्छन भन्ने आशा पलाएको थियो । काम ठिकै थियो । फेरि उहाँलाई कामसँग भन्दा पनि पैसासँग सरोकार थियो । जसरी हुन्छ पैसा कमाउनु पर्ने वाध्यता । जाँदा म्यानपावरलाई बुझाएको ७० हजार रुपैयाँ पनि तिर्न सक्नु भएको थिएन । यो अवस्थामा कसरी घर फर्किने ? साहुलाई के जवाफ दिने ? विनयले केहि पनि सोच्न सक्नु भएन । 

नेपाल फर्किएर उहाँ काठमाडौंको एक होटलमा घोत्लिएर बसिरहनु भएको थियो । होटलका कर्मचारीले उहाँलाई चिन्तित देखेपछि सोधखोज गरे । उहाँलै आफ्नो पीडा ती कर्मचारीलाई सुनाउनुभयो । त्यसपछि ती कर्मचारीले वैदेशिक रोजगारीमा अप्ठेरो पर्दा सहयोग गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिमा जान सल्लाह दिए । उहाँ तत्काल त्यतैतिर लाग्नुभयो । विनयलाई पिएनसिसीले काठमाडौंमा रहेको आफ्नै सेल्टरमा राखेर खान बस्ने र कानुनी लडाईं लड्ने व्यवस्था मिलायो । सुरक्षित आप्रवासन परियोजना सामिको सहयोगमा पिएनसिसीले विगत केहि वर्षदेखि वैदेशिक रोजगारीका क्रममा अप्ठेरोमा परेकालाई यो सुविधासहित आवश्यक सहयोग गर्दै आएको छ । 

पिएनसिसीको सेल्टरमा बसेर कानुनी लडाईं लड्ने निश्चय गरेका विनयले विदेश जाँदा मेडिकल जाँच गराएको तिनकुनेको हेल्दी लाइफ इन्स्टिच्युटमा पुगेर मेडिकल फेल भएर फर्किनु पर्‍यो भन्दै पीडा सुनाउनुभयो । तर मेडिकलले क्षतिपुर्ति दिनुपर्ने समय सकियो तपाईं ढिलो फर्किनुभयो भन्यो । जहाँ विनय मेडिकल पास भएर कतार जान सक्षम भनिएको थियो तर त्यहिँ संस्थाले समय सकियो पैसा दिन्न भन्यो । नेपालमा मेडिकल गरेको १ सय ५ दिन भित्रमा विदेशमा मेडिकल फेल भएर फर्किएकाले उजुरी दिनुपर्छ । तर विनयको त्यो समय नाघेको थियो । 

त्यसपछि विनय प्रुन्डेसियल ओभरसिज म्यानपावरमा जानुभयो । तर म्यानपावरले यो सबै मेडिकलका कारण भएको हो हाम्रो कुनै दोष छैन भन्दै विनयलाई पन्छाउने प्रयास ग¥यो । तर विनयलाई पिएनसिसी र मानव अधिकारका लागि जनमञ्च नेपाल पिपुल फोरमले कानुनी बाटो खोज्न सघाए । उहाँले म्यानपावर र मेडिकलकाविरुद्धमा वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार मान्त्रालयमा उजुरी दिनुभयो । उजुरीको फैसला हुन नपाउँदै म्यानपावर, मेडिकल र दलाल उहाँलाई ४० हजार रुपैयाँ दिन तयार भए । ७० हजार तिरेर कतार पुगेका विनयले क्षतिपूर्ति ४० हजार रुपैयाँमा चित्त बुझउनु भयो र त्यहि पैसा लिएर ५ महिनापछि उहाँ घर फर्किनुभयो ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook