नेहा हत्या प्रकरण : आफन्त भन्छ घटनाको सत्य तथ्य बाहिर ल्याएन प्रहरी भन्छ फेक आइडीको फेसबुक पोस्टले हैरान पार्यो


प्रवासी खबर  : १९ वर्षीया किशोरी नेहा (योरुना) पुनको हत्यासम्बन्धी केस सुल्झनुको सट्टा झन् उल्झँदै गएको छ। १० दिनअघि घरनजिकै अर्धनग्न शव भेटिएपछि काठमाडौँदेखि पोखरासम्मका सडक तातिएको थियो। दबाबमा परेको प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक पनि गर्‍यो। तर पोखरा अझै पनि शान्त भइसकेको छैन। हत्याको छानबिन र पोस्टमार्टम गर्न दबाब दिँदै विभिन्न संस्थाले बिहीबार पनि प्रदर्शन गरे। 

सामूहिक बलात्कार हो कि हैन ? 

प्रहरीले हत्याको आरोपमा सतिश भनिने कृतन खड्गीलाई पक्राउ गरी सोमबार सार्वजनिक पनि गरिसकेको छ। प्रहरीसँगको बयानका क्रममा आफूसँग रात बिताउन नमान्दा हेलमेटले हानेको उनले बताएका थिए। तर प्रहरीले सार्वजनिक गरेको घटना विवरणप्रति नेहाका आफन्तले असन्तुष्टि जनाएको छ। बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै पुन समाजका केन्द्रीय सदस्य लालबहादुर पुनले सोधे, 'पोस्टमार्टम रिपोर्ट नै नहेरी हेल्मेटको प्रहारबाट मृत्यु भएको भनी प्रहरीले कसरी भन्न सक्छ ?' 

नेहाका मामा यमप्रसाद थजाली पुनले सामूहिक बलात्कारको कुरा लुकाइएकोमा आपत्ति जनाए। पत्रकार सम्मेलनमा अन्य स्थानमा बलात्कार गरी शव भेटिएको स्थानमा फ्याँकिएको तथा प्रहरीले पनि प्रारम्भिक रुपमा सामूहिक बलात्कार भएको हुनसक्ने जिकिर गरियो। प्रत्यक्षदर्शीको भनाई अनुसार पनि सामूहिक बलात्कार भएको देखिएको उनीहरुले बताए । 

प्रहरी भन्छ- पोस्टमार्टम रिपोर्टमा बलात्कार लेखिएको छैन 

तर प्रहरी भने यसलाई अस्वीकार गर्छ। कास्कीका एसपी हरि पालले बताए, 'त्यो बेकार वाहियात कुरा हो। पोस्टमार्टममा केही छैन त मैले कसरी भन्न सक्छु? पोस्टमार्टममा त भन्नु पर्‍यो नि – रेप भएको हो भनेर। केही लेखेकै छैन। यहाँको डाक्टरले भन्नु पर्‍यो नि रेप भएको हो भनेर त, केही लेख्या छैन।' 

प्रहरीसँगको बयानका क्रममा अभियुक्त खड्गीले भनेका थिए - 'हेल्मेटले हानेर ढलिसकेपछि यौन सम्पर्क गर्न खोज्दा नाक र कानबाट रगत बगेको देखपछि डराएर घरतर्फ गएँ।' पत्रकार सम्मेलनमा भने नेहाका आफन्तले प्रश्न गरे, 'प्रहरीले किन हामीलाई पोस्टमार्टम रिपोर्ट देखाउँदैन? किन सार्वजनिक गरिन्न?' सतिशका पछाडि अरु पनि व्यक्ति रहेको र सामूहिक बलात्कार नै भएको आफन्तको आरोप छ। घटनास्थलमा नेहाको भित्री वस्त्र अन्तै भेटिएको विषयमा प्रहरीको अनुसन्धान फितलो देखिएको आरोप समेत उनीहरुले लगाएका छन्। 

एसपी पालले थप परीक्षणका लागि शव पठाएको बताए

सोमबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा नेहाको शवमा भेटिएको कालो कपडाका बारेमा प्रश्न उठेपछि अनुसन्धानको नेतृत्व गर्ने डिएसपी गजुसिद्दी बज्राचार्यले सुरुमा नेहाकै सल भएको बताएका थिए। तर त्यो सल नभई अर्कै ठूलो कालो कपडा भएको भन्ने प्रश्न उठेपछि उनले भनेका थिए, 'सबै कुरा आजै सकिने भए त भोलि नै अनुसन्धानको फाइल बुझाए भइगयो नि, अझै क्लियर हुनुपर्ने कुरा धेरै छन्।' 

फेक फेसबुक पोस्ट भाइरल भएपछि प्रहरीसमेत तनावमा 

नेहा हत्याबारे सिसम थापा नामको फेसबुक आइडीबाट 'नेहा पुनलाई कसले यस्तो गरेको हो मलाई थाहा छ। एक जनाको नाम फलानो हो' भन्दै लेखिएको पोस्ट भाइरल भएको छ। यही पोस्टका आधारमा सेलिब्रिटीहरुले समेत फेसबुकमा स्टायटस लेखेको देखिएको छ। एसपी पाल फेसबुकबाट भ्रम सिर्जना गर्न खोजिएको बताउँछन्, 'कोही मान्छेले बदमासी गरेको छ। हामीले पत्ता लगाइराखेका छौँ। सामाजिक सञ्जालमा जे पायो त्यही लेखिदिने र भ्रम श्रृजना गर्न खोजिएको छ।' 'सिसम जस्ताले अनेका लेख्दा भ्रम उत्पन्न भएको छ। वास्तविक सिसम थापा बहिनी हाम्रो सम्पर्कमा छ। त्यो अकाउन्ट र फोटो फेक रहेछ', पालले भने। 

उनले प्रहरीको अनुसन्धानलाई अविश्वास गरेर भ्रम छर्न खोजिएको र त्यस्तो भ्रम श्रृजना गर्नेलाई कारबाही गर्ने बताए। 'हामीलाई विश्वास नगरेर हुन्छ ? हामीले त्यत्रो अनुसन्धान गरेर मान्छे पक्राउ गरेका छौँ। अनुसन्धान त जारी नै रहेको छ। तर अहिले सिसम थापा भन्ने फेक आइडी बनाएर हल्ला भएको छ। तर रियल त्यो महिला हाम्रो सम्पर्कमा छ। उसलाइ थाहा छैन आफ्नो नाम बनाएर त्यस्तो गरिएको बारे। त्यो महिलाले अपराध महाशाखा काठमाडौँमा सम्पर्क गरिसकेको छ', उनले भने । 

अनुसन्धान जारी 

अनुसन्धान फितलो भएको आरोप अस्वीकार गर्दै पाल भन्छन् – 'आरोप लगाएर हुन्छ ? त्यसो भए त अनुसन्धान उनीहरुले गरे भइहाल्यो नि त। पुलिस किन चाहियो भनेको? हामीलाई विश्वास नगरेर हुन्छ ? हामीले त्यत्रो अनुसन्धान गरेर मान्छे पक्राउ गरेका छौँ। अनुसन्धान त जारी नै रहेको छ।' अनुसन्धानबारे उनले भने, 'अस्ति जो मान्छे समातेको हो, त्यो भन्दा डेभलपमेन्ट केही छैन। बेकारमा यो इस्यु बनाइएको छ अरु मान्छेहरुले। जुन मान्छे हामीले समातेको हो त्यो भन्दा अर्को अभियुक्त छैन अहिलेसम्म।'

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook