युवती बेचेर नेपाल प्रहरीकी असई यसरी फरार
नेपाल प्रहरीमा कार्यरत त्यसमाथि पनि महिला प्रहरी नै चेलीबेटी बेचबिखनमा संलग्न रहेको भन्ने शब्द झट्ट सुन्दा जो कोहीलाई पनि विश्वास गर्न गाह्रो हुन्छ । तर पछिल्लो समय रुपन्देहीमा घटेको एउटा घटनाले उक्त विषयलाई सहजै नकार्न नसकिने अवस्था सिर्जना भएको छ । घटना हो गत असोज २५ गते सोमबार अपराह्न अन्दाजी १२ः३० को र घटनास्थल हो रुपन्देहीको सीमानाका बेलहिया । नेपालबाट रुपन्देहीको बेलहिया सुनौली नाकाबाट भारत हुँदै खाडी तथा अफ्रिकी मुलुकमा नेपाली चेलीबेटीको सम्भावित बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्ने, पीडितको उद्धार गर्ने र दोषीहरुलाई कानुनी कारबाहीको लागि पहल गर्ने उद्देश्यअनुरुप माइती नेपालको तर्फबाट नाकामा चेकजाँचको लागि खटिएका माइती नेपाल भैरहवाका कर्मचारीद्वय ज्ञानु गौतम र सुस्मिता राईले असोज २५ गते सोमबार अपराह्न करिब १२ः३० को समयमा शंकास्पद दुई युवतीहरु (परिवर्तित नाम भैरहवा ११ र भैरहवा १२) नेपालतर्फबाट भारतको सुनौलीतर्फ जान लागेको देखे । देख्नासाथ राई र गौतमले दुवै युवतीहरुलाई भारततर्फ जानबाट रोकेर कहाँ जान लागेको भनेर सोधपुछ गर्दा दुवै युवती अक्मकाएपछि एक्लाएक्लै राखेर सोधपुछ गर्न थाले ।
माइती नेपालको टोलीले दुवै युवतीलाई सोधपुछ गर्दै गर्दा रुपन्देही सेमलार–८ घर भई सैनामैना बस्ने मायादेवी (धवल) धोबी नाम गरेकी एक अधबैंसे महिलाले उक्त स्थानमा पुगेर ‘यी बहिनीहरु भारतको सुनौली बजारमा सपिंग गरेर फर्किने हो’ भन्दै उनीहरुलाई छाडिदिन अनुरोध गरिन् । मायादेवीले जति अनुनय विनय गरे पनि माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोली उनको कुरामा विश्वस्त हुन सकेन । त्यसपछि संयुक्त टोलीले उनै मायादेवीको नियतमाथि नै शंका गर्दै उनीमाथि अनुसन्धान सुरु ग¥यो । प्रारम्भिक सोधपुछको क्रममा दुई युवतीले आफूहरु वैदेशिक रोजगारीको लागि कुवेत जान थालेको र मायादेवी आफूहरुलाई नाका पार गराउन आएको बताएपछि माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले मायादेवीलाई नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमा परेपछि अत्तालिएकी मायादेवीले नेपाल प्रहरीअन्तर्गत पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत प्रहरी सहायक निरीक्षक निर्मला श्रेष्ठको नाम पोलिन् । मायादेवीले प्रारम्भिक बयानमा ‘यी बहिनीहरुलाई भारतको सुनौली बजारमा सपिंग गर्न भनी निर्मला दिदीले पठाउनुभएको हो, निर्मला बुटवल तालिम केन्द्रमा असई छिन्’ भन्दै नाम पोलेपछि माइती नेपालको टोली चकित परेको थियो । चेलीबेटी बेचबिखनमा जुनियर अधिकृत तहको महिला प्रहरीको संलग्नता देखिएपछि माइती नेपाल भैरहवास्थित कार्यालयले घटनास्थल मुचुल्का कागजसहित मायादेवीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाउँदै बेच्न लैजाँदै गरिएका ती दुई युवतीको उद्धार ग¥यो । सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पीडित युवतीको जाहेरी लिन खोज्दा ती दुवै युवती काठमाडौंबाट आएको र बारदातस्थल समेत काठमाडौं जिल्लामै रहेको खुल्न आएपछि पीडितको जाहेरी र घटनास्थल मुचुल्का विवरणसहित पक्राउ परेकी मायादेवीलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइदियो । काठमाडौं आइसकेपछि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ परेकी मायादेवीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर मायादेवीको बयानबाट तानिएकी असई निर्मला श्रेष्ठलाई उपस्थित गराइदिन उनी कार्यरत रहेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रलाई पत्र काट्यो । बयानमा मायादेवीले आफ्नो नाम पोलेको खबर प्रहरी स्रोतबाटै थाहा पाइसकेकी असई श्रेष्ठ काठमाडौं प्रहरीले उनलाई उपस्थित गराइदिन गरेको अनुरोधसहितको पत्र बुटवल तालिम केन्द्रमा नपुग्दै उनी फरार भइसकेकी थिइन् ।
उनी फरार भएता पनि काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत श्रेष्ठलाई समेत फरार प्रतिवादी बनाउँदै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुवै प्रतिवादीको हकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ र दफा ४ (२) (क) को कसुर देखिएको उल्लेख गर्दै सोही ऐनको दफा (१५) (१) को खण्ड ( ड ) (१) बमोजिम र असई निर्मला श्रेष्ठ नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा बहाल रहेकोमा सोही ऐनको दफा १५ (३) बमोजिम थप सजाय मागदाबी गर्दै गत कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । उक्त मुद्दामा थुनछेकमा भएको आदेशबमोजिम पक्राउ परेकी मायादेवी (धवल) धोबी मुद्दा पुर्पक्षको लागि केन्द्रीय कारागारस्थित महिला बन्दीगृह चलान भइसकेको र असई श्रेष्ठलाई निलम्बन गरी काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको काठमाडौं प्रहरी परिसर स्रोतको दाबी छ । आजको आर्थिक दैनिकमा मदन भण्डारीले खबर लेखेका छन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.