कम्पनीले ८ महिनाको तलब नदिएपछि साउदीमा २१ नेपालीको बिचल्ली


साउदी अरब, फागुन ४ । रोजगारदाता कम्पनीले पारिश्रमिक नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ जना नेपाली बिचल्लीमा परेका छन् । दमामस्थित अलसत्रायन कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत् ती नेपाली कामदारले ८ महिनाको पारिश्रमिक पाएका छैनन् । रोजगारदाता कम्पनीले गत वर्षको जुलाईदेखि हालसम्मको पारिश्रमिक दिएको छैन । उनीहरु काठमाडौंमा रहेको स्काइवे म्यानेजमेन्ट प्रालि, डीएचआर डेस्टेनी हुमन रिर्सोस र न्यू एसभी इन्टरनेशलनमार्फत् साउदी आएका हुन् । 

बिचल्लीमा परेको भन्दै पीडितले उद्धारको आग्रह गरेका छन् । पीडितलाई खान–बस्नसमेत समस्या भएको छ । निर्माण क्षेत्रमा काम गर्ने उक्त कम्पनीले पछिल्लो समय बजारमा काम पाउन नसकेपछि कामदारलाई पारिश्रमिक दिन नसकेको बुझिएको छ । कम्पनीको आम्दानीको स्रोत बन्द भएको भन्दै पारिश्रमिक नदिइएको रामेछापका श्याम खड्काले बताए । कम्पनी सन्चालकले कम्पनीमा आर्थिक अभाव भएको भन्दै पारिश्रमिक दिन मानेको छैन’–उनले भने । पारिश्रमिक नपाएको विषयमा तीन महिना अगाडि नेपाली दूतावासलाई लिखित जानकारी गराएपनि सुनुवाइ नभएको पीडितको गुनासो छ । ‘दूतावासलाई पटक–पटक उद्धार गरी पाउँ भनी निवेदन दिँदै आएको छौं’–खोटाङका खड्कबहादुर कटुवालले भने । 

पारिश्रमिक नपाएपछि काम छाडेर बसेको चार महिना बितेको पीडितले बताएका छन् । पारिश्रमिक नदिएपछि स्वदेश पठाइदिन आग्रह गर्दै आएपनि कम्पनीले स्वदेश फर्कन दिएको छैन । रोजगारदाताको बेवास्ताका कारण नेपाली कामदार एउटै कोठामा कोचिएर चिसो भुइँमा सुत्न बाध्य छन् । ‘कतारबाट भाइसँग पैसा मगाएर खाना खाने जोहो मिलाएँ’–इटहरीका आनन्द खतिवडाले भने । न्यायका लागि दुई महिनाअघि श्रम अदालतमा मुद्दा हालेपनि अदालतले समेत सुनुवाइ नगरेको उनको गुनासो छ । दाङका गंगाबहादुर पुन मगर ऋण काढेर मेनपावर कम्पनीलाई रु एक लाख १० हजार बुझाएर १४ महिनाअघि साउदी आएका हुन् । ‘साहुसँग लिएको ऋण कसरी चुक्ता गर्ने पिरलो छ’–उनले भने । रासस

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook