कांग्रेसले बनाए "डन" महाधिवेशन प्रतिनिधि, "तस्कर" जिल्ला सभापति ?
काठमाडौ, २३ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि शुक्रबार भएको महाधिवेशन प्रतिनिधि छनोटमा डन मीनकृष्ण महर्जनले पनि जितेका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी मत ल्याएर महर्जनले महाधिवेशन प्रतिनिधि जितेका छन् । ललितपुर क्षेत्र नम्बर १ का सांसद तथा तरुण दलका अध्यक्ष उदयशमशेर राणाले भन्दा बढी मत महर्जनले ल्याएका छन् । महर्जनमाथि प्रहरीलाई कुटपिट गरेको र ठेक्कापट्टा कब्जा गरेको अभियोग लाग्दैआएको छ । ठेक्कापट्टाकै बिषयमा विवाद हुँदा बाहुन डनले प्रहार गरेको गोली लागी केही बर्षअघि महर्जन घाइते भएका थिए ।
त्यसैगरी सिन्धुपाल्चोक कांग्रेसको माघ २५ गते हुने जिल्ला अधिवेशनमा तस्कर विष्णु खत्रीले सभापतिमा उम्मेदवारी दिन लागेको समाचार छ ।
राजनीतिमा त्याग तपस्या गरेका कार्यकर्तालाई पाखा पार्दै कांग्रेसले खत्रीलाई सभापतिमा उठाउन लागेकोमा दु:ख कष्ट गर्ने कार्यकर्ताहरु निराश भएका छन् । रक्तचन्दन तस्करीदेखि विभिन्न किसिमका प्रतिबन्धित सामान र अमेरिकी डलरको तस्करीमा नाम मुछिएका खत्री कुस्त सम्पत्ति कमाएपछि राजनीतिमा आउन लागेका छन् । यसअघि उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका थिए । यो पटक जिल्ला सभापतिमै उम्मेदवारी दिन लागेका छन् । २०६४ को संविधानसभा चुनावमा उनले माओवादीका उम्मेदवार राजकुमार श्रेष्ठलाई सहयोग गरेको आरोप कांग्रेसकै कार्यकर्ताले लगाएका थिए ।
सुरुमा संस्थापन पक्षबाट सभापतिका उम्मेदवार हुन खोजेका विष्णु खत्रीलाई वर्तमान जिल्ला सभापति मोहनबहादुर बस्नेतले पनि समर्थन गरेको दृश्य शुक्रबार बाह्रबीसेमा भएको १ नम्बर क्षेत्रीय अधिवेशनमा देखिएको थियो । बस्नेतले जिल्ला सभापतिमा प्रेमध्वज लामालाई अगाडि बढाएर अहिले आएर खत्रीलाई च्यापेकोमा कार्यकर्ता पंक्ति रुष्ट भएको छ ।
संस्थापन पक्षको भरमा मात्र चुनाव नजितिने भएपछि खत्रीले मोहन बस्नेतलाई हातमा लिन सफल भएका छन् । प्रेमध्वजलाई बस्नेतले धोका दिएपछि सिन्धुका कांग्रेस कार्यकर्ताहरु राजनीति अब पैसा नहुनेले नगरे पनि हुनेरहेछ भन्न थालेका छन्, खत्रीको धनमा सबै बिकेपछि लामाहरुको त्यागको कुनै अर्थ रहेन । दौरासुरुवाल र पेटी लगाएर राणाजीको टाँठबाटमा खत्री जिल्ला सभापतिको उम्मेदवारका रुपमा बाह्रबीसेमा शुक्रबार देखिएका थिए । सिन्धु कांग्रेसका कार्यकर्ताका अनुसार उनलाई मोहन बस्नेतले नै सभापतिको उम्मेदवारका रुपमा कार्यकर्तासामु चिनाइरहेका थिए ।
त्यस्तै डन पृष्ठभुमी भएका रोज राणाले पनि प्यूठान क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा भारी मतले चुनाव तिजेका छन् । पछिल्लो समय उनी फिल्म निर्माणमा लागेका छन् ।
काभ्रेमा संजीव स्याल तिर्थ लामासँग क्षेत्रीय सभापतिमा पराजित भएका छन् । संजीव संस्थापन र तिर्थ देउवा पक्षका हुन् । काभ्रेकै क्षेत्र नम्बर ४ मा गुण्डागर्दीमा संलग्न सुन्दरमणि आचार्य पराजित भएका छन् । युवा नेता महेस खरेलसँग उनी पराजित भएका हुन् । खरेल देउवा पक्षका नेता हुन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.