इजरायल आउन ट्रायल पास गर्नु पर्ने भन्दै यसरी खुट्टा धुन लगाए


काठमाडौं–इजरायल जाने तयारीमा रहेकी उदयपुर, गाइघाट–२ की मुना मगर नर्सिङमा स्नातक हुन् । केयर गिभरमा नेपाल सरकारले इजरायल पठाउने कार्यक्रमअन्तर्गत छानिएकी मगरका लागि नर्सिङमा स्नातक उत्तीर्णको प्रमाणपत्र मात्र पर्याप्त भएन। 

उनीसँग सैद्धान्तिक शिक्षाको अलावा व्यवहारिक ज्ञान भए/नभएको जान्न सीप प्रदर्शन गर्नुपर्ने (ट्रायल) आवश्यकता पर्यो । जिटुजी (नेपाल र इजरायल सरकार) प्रक्रियामा सुरु गरिएको पहिलो कार्यक्रममा छनोट हुन मगरले सैद्धान्तिक रूपमा सिकेको ज्ञान व्यवहारमा दुरुस्त देखाउन सकेमात्र उनलाई इजरायल रोजगारीको अवसर प्राप्त हुनेछ । 

मोरङ, उर्लाबारी–८ की अनमी संगीता धिमाल पनि बिहीबार निकै दौडधुपमा थिइन् । अनमी अध्ययनको क्रममा सिकेको केयर गिभरको सीप व्यवहारमा देखाउन धिमाल क्रियाशील थिइन् । पाइलट प्रोजेक्टको रूपमा वैदेशिक रोजगार विभागले केयर गिभरमा पहिलोपटक इजरायल पठाउन सुरु गरेको कार्यक्रममा सहभागी सबैले हासिल गरेको ज्ञानलाई व्यवहारमा दुरुस्त प्रदर्शन गर्न सकेमात्र छानिएर इजरायल जान पाउने व्यवस्था मिलाएको छ । 

सैद्धान्तिक ज्ञानको प्रमाणपत्र पेस गरेकालाई विभिन्न देशमा पठाउँदा समस्या आएपछि यसपटकदेखि उनीहरूले हासिल गरेको ज्ञानलाई व्यवहारमा पुष्टि गर्नुपर्ने प्रावधान लागू गरिएको छ । विभागका प्रवक्ता जनकराज रेग्मीका अनुसार केयर गिभरको काम गर्न इजरायल जान लिखित परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका उम्मेदवारहरू केयर गिभरसम्बन्धी प्रयोगात्मक र मौखिक परीक्षामा उत्तीर्ण भए मात्र इजरायल जाने अवसर पाउने छन् । 

यसपटक केयर गिभरका लागि आठ सयले आवेदन दिएकोमा लिखित परीक्षासम्म ६० जना छानिएका थिए । रेग्मीका अनुसार यतिखेर इजरायल जानका लागि अन्तिम छनोटको कार्यक्रम अन्तर्गत प्रयोगात्मक र मौखिक परीक्षा भइरहेको छ । लिखित परीक्षादेखि नै इजरायली राजदूतावास र इजरायलबाट आएका अधिकारी सम्मिलित टोलीले प्रयोगात्मक र मौखिक परीक्षा लिइरहेको छ । 'इजरायली अधिकारी नै सीपको प्रयोगात्मक परीक्षणमा सहभागी भएकाले आगामी दिनमा सीप नसिकी प्रमाणपत्र पेस गर्नेहरू हतोत्साही हुने अपेक्षा गरेका छौं,' रेग्मीले भने । प्रयोगात्मक र मौखिक परीक्षामा सफल भएका मात्र केयर गिभरको काम गर्न इजरायल जान पाउने विभागले जनाएको छ । 

मासिक सरदर एक लाख रुपैयाँ तलब पाइने र जाँदा एक लाख रुपैैयाँभन्दा बढी खर्च नहुने भएकाले केयर गिभरको काम गर्न इजरायल जान युवायुवती निक्कै इच्छुक छन् । केयर गिभरको तीनमहिने तालिम लिएकाले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था भए पनि पहिलो चरणमा अधिकांश नर्सिङ, सिएमए र अनमी अध्ययन गरेका छनोट भए । केयर गिभरको काम गर्न स्नातक नर्सिङ अध्ययन गरेकोको समेत आकर्षण बढेपछि तीनमहिने तालिम लिएर इजरायल जाने प्रतीक्षा गरिरहेकाहरू लगानी डुबेको भन्दै निराश छन् । इजरायलमा केयर गिभरको काम गर्न जानेहरूले बृद्धबृद्धाको रेखदेख गर्नुपर्छ । 

गत साउनमा नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार एक वर्षभित्र तीन सय युवायुवतीलाई केयर गिभरको काम गर्न पठाउने सहमति भए पनि पहिलो चरणमा ६० जनालाई पठाउने तयारी भइरहेको विभागले जनाएको छ । रेग्मीका अनुसार ती ६० जनाले त्यहाँ प्रदर्शन गर्ने क्षमतापछि अन्य कामदार कहिले र कति लैजाने भन्नेबारेमा यकिन हुनेछ । 

सिएमए अध्ययन गरेकी काभ्रे, पोखरीचौकरी चन्दा गौतमले केयर गिभरको काममा इजरायल जान पाउनुलाई अवसर ठानेकी छन् । 'स्वदेशमा बस्दा काम पाउने÷नपाउने टुंगो हुँदैन । पाइहाले निजी कम्पनीले निकै शोषण गर्छन्,' उनले भनिन्, 'कम लागतमा मासिक एक लाख रुपैयाँ तलबको काम पाउनु राम्रो हो ।' केयर गिभरको काममा जानेले इजरायलमा ५१ महिनासम्म रहन पाउनेछन् । मानव अधिकार र महिला अधिकारका सशक्त कानुन रहेकाले केयर गिभरको काममा जान पुरुषको तुलनामा महिला बढी आकर्षित छन् । 

यसपटक इजरायल जाने तयारीमा रहेकामध्ये ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष रहेको विभागले जनायो । अनमी अध्ययन गरेकी रामेछाप, चुचुरे–८ की अञ्जु कार्कीले इजरायल जान यसपटकको प्रक्रिया हरेक सहभागीलाई चित्त बुझेको बताइन् । 'हरेकको क्षमता अनुसार छनोट प्रक्रिया अपनाइएको छ,' उनले भनिन् । इजरायल जाने प्रक्रियामा रहेकाले रोजगारीका लागि विदेश जाने हरेक देशमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सीपको परीक्षण गर्न सके वैदेशिक रोजगारी कम जोखिमयुक्त हुनाको साथै कामदारले राम्रो पारिश्रमिक पाउन सक्ने सम्भावना औंल्याएका छन् । नेपाल सरकारले आगामी दिनमा वैदेशिक रोजगारीमा कुन काममा जाने हो त्यसका लागि प्रयोगात्मक सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने बाध्यकारी नियम बनाउनु पर्ने उनीहरूको भनाइ छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook