मलेसियामा कार्यरत नेपालीहरुको लागी अत्यन्तै खुशीको खबर, गैरकानुनी अवस्थामा रहेका लागि पुन: रोजगारी


मलेसियाले गैरकानुनी विदेशी कामदारहरुका लागि घोषणा गरेको ‘पुन: रोजगारी तथा स्थानान्तरण’ (रि–हाइरिङ एण्ड रिलोकेशन इलेगल ईमिग्रान्ट प्रोग्राम) कार्यक्रम भोली सोमबार (फेब्रुवरी १५) देखि सुरु हुँदैछ । मलेसियाली गृह मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रमबारे विभिन्न मापदण्ड सार्वजनिक गरेको हो । 

मन्त्रालयको वेबसाइटमा प्रकासित उक्त विज्ञप्तीअनुसार यो कार्यक्रम यसैबर्ष डिसेम्बर ३१ सम्म चल्नेछ । तर ३ महिना प्रारम्भिक चरणका रुपमा रहनेछ । स्थानीय संञ्चारमाध्यमले उल्लेख गरेअनुसार करिब २१ लाख विदेशी कामदार बैधरुपमा काम गरिरहेको र झण्डै त्यति नै संख्यामा गैरकानुनी कामदार रहेको ठानिएको छ । गैरकानुनी कामदारका लागि सुनौलो मानिएको यस कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएमा गैरकानुनी अवस्थामा रहेका हजारौं नेपालीसहित लाखौं विदेशी कामदारले रोजगारीको अवसर प्राप्त गर्नेछन् । 

यस्ता छन् बैध हुने मापदण्डहरु : 

१-बैध हुन चाहने कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना भइसकेको हुनुपर्ने । 

२-कामदार कुनै पनि आपराधिक गतिविधिमा नलागेको वा आपराधिक पृष्ठभूमी नभएको हुनुपर्ने । 

३-बैध हुने चाहने कामदारको राहदानीको म्याद ननाघेको (कम्तीमा ६ देखि १ बर्ष महिना) हुनुपर्ने । 

४-सोसल भिजिटमा रहेको र ओभरस्टे भएको सन्दर्भमा गत बर्ष सेप्टेम्बर १ भन्दा अगावै भिसा सकीएको हुनुपर्ने । अर्थात् भिसा सकीएको ६ महिना हुनुपर्ने । 

५-कुनैपनि स्वास्थ्य समस्या नभएको हुनुपर्नेछ । स्वास्थ्य परिक्षण गर्ने संस्था (फोमेमा) बाट योग्य ठहरिएको हुनुपर्नेछ । 

६-संयुक्त राष्ट्र संघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्ने । 

मलेसियामा गैरकानुनी कामदार व्यवस्थापन समस्या हल गर्नु ठूलै चुनौती बन्दै आएको छ । उसले गैरकानुनी कामदार व्यवस्थापन गर्न यसअघि पनि पटक–पटक ‘आममाफी तथा बैधता दिने कार्यक्रम’ को अवसर ल्याएपनि अपेक्षित रुपमा समस्या समाधान हुन सकेको छैन । यद्यपि यसपाली पनि त्यस्तै अवसर दिन लागिएको हो । यसअघि गरिएको बैधानिकता तथा आममाफी कार्यक्रममा कामदार दर्ता र तथ्यांक जम्मा गर्ने जिम्मेवारी मुलुकभरका ३ सयभन्दा बढी कम्पनीहरुलाई दिइएको थियो । त्यतिबेला बिचौलियाहरुबाट कामदारहरु ठगिएका गुनासो बढेको पाएपछि यसपाली कामदार नठगिऊन भन्नेमा जोड दिंदै अनलाइनमार्फत नै दर्ता गर्न सकिने कार्यक्रम तय गरेको हो । अब रोजगारदाताले आफुलाई आवश्यक पर्ने कामदारका प्रमाणित कागजात, कम्पनी विवरण लगायत आवश्यक सम्पूर्ण कागजात अनलाइनमार्फत नै दर्ता गर्न सकीने जनाइएको छ । सोमबारदेखि शुरु हुने यो कार्यक्रमका अनलाइन प्रणाली तयार गरिसकिएको जनाइएको छ । 

कार्यक्रमका लागि ‘रिहाइरिङ डट् आईएमआई डट् जिओभी डट माई’ अनलाईन संचालनमा ल्याइएको छ । स्रोतका अनुसार सरकारबाट निलम्बनमा परेका रोजगारदाताहरुले यो कार्यक्रममार्फत कामदार भर्ना गर्न पाउनेछैनन् । रोजगारदाताले आफुलाई आवश्यक परेको कामदार संख्या निश्चित गरी कोटा प्रणालीअनुसार कामदार भर्ना गर्न/राख्न पाउनेछन् । गैरकानुनी तबरले मलेसिया छिरेका र मलेसिया प्रवेश गरेको कुनै कानुनी आधार नभएका कामदारले यो कार्यक्रमको अवसर लिन नपाउने उल्लेख गरिएको छ । कार्यक्रममार्फत बैधानिकता पाउन मापदण्ड पूरा नभएका कामदारलाई स्वदेश फिर्ता पठाइनेसमेत जनाइएको छ । तर त्यस्ता कामदारले अध्यागमन कार्यालयमा उपस्थित भई आफ्नो गल्ती/अभियोग स्वीकार गर्नुपर्नेछ । त्यसपछि तोकीएको जरिवाना शुल्क अध्यागमन कार्यालयमा तिरेर स्वदेश फिर्न सकीने जनाइएको छ । तर यसका लागि तिर्नुपर्ने शुल्क, र पर्याप्त जानकारी आउन बाँकी नै छ । क्वालालम्पुरस्थित नेपाली दुतावासका एकजना अधिकारीले मलेसियाली पक्षबाट यसबारे आधिकारिक जानकारी प्राप्त भइ नसकेको बताए ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook